Clickable Banner Ad

दोधारा चाँदनीमा लागू औषध न्यूनीकरण तथा विपद् व्यवस्थापनसम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न

दोधारा चाँदनी, कञ्चनपुर —
“त्यागौं लागू औषध, बचौं स्वस्थ जीवन” भन्ने नाराका साथ दोधारा चाँदनी नगरपालिका–२ मा लागू औषध न्यूनीकरण तथा विपद् व्यवस्थापनसम्बन्धी जनचेतनामूलक कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। दोधारा चाँदनी तेक्वान्दो डोजाङ्गको आयोजनामा सम्पन्न उक्त कार्यक्रम २०८२ सालको सुरुवातसँगै सचेतना अभिवृद्धिका दृष्टिले महत्त्वपूर्ण बन्यो।

Advertisement

कार्यक्रमको उद्घाटन गर्दै सभापति तेजराज गिरीले युवा पुस्ता लागू औषधको चपेटामा पर्दै गएकोप्रति चिन्ता व्यक्त गरे। उनले युवाहरूलाई खेलकुद र सकारात्मक क्रियाकलापमा जोड्न यस्ता कार्यक्रमहरू आवश्यक रहेको धारणा राखे।

प्रमुख अतिथि किशोर कुमार लिम्बूले लागू औषधविरुद्धको अभियान सफल बनाउन विद्यालय, अभिभावक, सुरक्षा निकाय तथा सामाजिक संस्थाबीच समन्वय अपरिहार्य रहेको बताए। उनले यस्ता सचेतनामूलक प्रयासहरूमा स्थानीय सरकारको निरन्तर साथ रहने प्रतिबद्धता व्यक्त गरे।

विशिष्ट अतिथि गंगा जोशीले युवावर्गमा बढ्दो दुर्व्यसनप्रति गहिरो चिन्ता व्यक्त गर्दै समाज, परिवार र शैक्षिक संस्थाहरूले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने आवश्यकतामा जोड दिइन्।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी किशोर बोहराले प्रहरी प्रशासन लागू औषध नियन्त्रणमा सतर्क र सक्रिय रहेको जानकारी दिए। उनले विद्यालयस्तरमै सुरु गरिने चेतनामूलक अभियानलाई निरन्तर साथ दिने प्रतिवद्धता जनाए।

कार्यक्रममा स्थानीय बासिन्दा, शिक्षक, विद्यार्थी, खेलाडी, अभिभावक तथा सुरक्षाकर्मीको उल्लेखनीय उपस्थिति थियो। दोधारा चाँदनी तेक्वान्दो डोजाङ्गका प्रशिक्षार्थीहरूले प्रस्तुत गरेको मार्सल आर्ट प्रदर्शनीले कार्यक्रमको आकर्षण बढाएको थियो।

Loading

Leave a Comment

Advertisement
Advertisement