कञ्चनपुर-कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार मान बहादुर सुनार ले दोधारा चाँदनीको विगत सम्झँदै भविष्यको विकास योजनासहित आफ्नो प्रतिबद्धता सार्वजनिक गरेका छन्।
२०४८ सालदेखि राजनीतिमा सक्रिय रहेको उल्लेख गर्दै उनले दोधारा चाँदनीको पुरानो अवस्था स्मरण गरे। उनका अनुसार एक समय यहाँ साइकल चलाउने बाटोसमेत थिएन। वर्षात्का बेला सडक हिलाम्य हुन्थे, सामान्य आवतजावतसमेत कष्टकर बन्थ्यो। दुवैतर्फ नदीले घेरिएको बस्ती भएकाले बाहिर जानुपर्दा ढुंगा चढेर नदी तर्नुपर्ने बाध्यता थियो। जोखिमपूर्ण यात्राकै क्रममा कतिपयले ज्यान गुमाएको पीडादायी घटना स्थानीयले अझै बिर्सेका छैनन्।
उनले भने, “त्यो समयको दोधारा चाँदनी र अहिलेको अवस्थाबीच ठूलो अन्तर छ। विकास विस्तारै अघि बढेको छ।”
सुनारका अनुसार महाकाली नदीमा दुईवटा पुल निर्माण भइसकेका छन् भने जोगबुडा नदीका विभिन्न स्थानमा पुल बनेका छन्। सडक सञ्जाल विस्तार भएको छ र अधिकांश बाटोको अवस्था पहिलेभन्दा सुधारिएको छ। स्वास्थ्य र शिक्षाका क्षेत्रमा पनि प्रगति भएको उनको दाबी छ।
यद्यपि अझै महत्वपूर्ण काम बाँकी रहेको उनले स्वीकार गरे। दोधारा चाँदनीलाई बाढी र कटानको जोखिमबाट जोगाउन ० पोइन्टदेखि कुतियाकवरसम्म स्थायी तटबन्ध निर्माण अपरिहार्य रहेको उनको भनाइ छ। “स्थायी तटबन्ध निर्माण हुन्छ, यो हाम्रो प्राथमिकतामा छ,” उनले स्पष्ट पारे।
भूमि समस्यालाई समेत उनले मुख्य एजेन्डाका रूपमा अघि सारे। “मैले निर्वाचन जितेको दुई वर्षभित्र सबैले लालपुर्जा पाउने व्यवस्था मिलाइन्छ,” उनले प्रतिबद्धता जनाए। आफू दोधारा चाँदनीकै बासिन्दा भएकाले यहाँको समस्या आफ्नै समस्या भएको उनले बताए। “अरूका लागि नभए पनि आफ्नै लागि भए पनि यो काम पूरा गर्नुपर्छ,” उनले जोड दिए।
विगतको कठिन अवस्थाबाट अहिलेको सुधारसम्मको यात्रा स्मरण गर्दै सुनारले बाँकी काम पूरा गर्ने अठोट व्यक्त गरेका छन्। स्थानीय विकास, तटबन्ध निर्माण र लालपुर्जा वितरणलाई केन्द्रमा राख्दै उनले मतदातासँग समर्थनको अपिल गरेका छन्।
![]()