दोधारा चाँदनी- दोधारा चाँदनी नगरपालिका–५ मा जाडो मौसमका कारण प्रभावित जेष्ठ नागरिकलाई लक्षित गर्दै न्यानो कम्बल वितरण कार्यक्रम सम्पन्न भएको छ।
वडा नं. ५ का वडा अध्यक्ष केशवबहादुर खत्रीले वडाभित्रका ६० जना जेष्ठ नागरिक छनोट गरी न्यानो कम्बल वितरण गर्नुभएको हो। जाडोयाममा जेष्ठ नागरिकलाई राहत पुग्ने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरिएको वडा अध्यक्ष खत्रीले बताउनुभयो।
उहाँका अनुसार आफू निर्वाचित भएको पहिलो वर्षदेखि नै वडामा बसोबास गर्ने जेष्ठ नागरिकलाई लक्षित गरी प्रत्येक वर्ष कम्बल वितरण गर्दै आइरहनुभएको छ। हालसम्म आइपुग्दा करिब २५० जना जेष्ठ नागरिकलाई न्यानो कम्बल वितरण गरिसकिएको उहाँले जानकारी दिनुभयो।
वडा अध्यक्ष खत्रीले सामाजिक सेवा कार्यक्रम वडा–५ मा मात्र सीमित नराखी दोधारा चाँदनी नगरपालिकाका १ देखि १० वडासम्मका दुःखी गरिब, मिर्गौला तथा क्यान्सर पीडित, शिक्षा प्राप्त गर्न नपाएका तथा आर्थिक अभावमा रहेका विद्यार्थीहरूलाई समेत सहयोग गर्दै आएको उल्लेख गर्नुभयो।
कम्बल वितरण कार्यक्रम केवल भौतिक सहयोगमा सीमित नभई समाजमा जेष्ठ नागरिकप्रति सम्मान र जिम्मेवारीको भावना विकास गर्ने उद्देश्यले निरन्तरता दिइएको वडा अध्यक्ष खत्रीको भनाइ छ। यसले आफ्ना आमाबुबाप्रति छोराछोरीले सम्मानपूर्वक व्यवहार गर्न प्रेरणा मिल्ने विश्वास उहाँले व्यक्त गर्नुभयो।
![]()