दोधारा चाँदनी, दोधारा चाँदनी नगरपालिका वडा नम्बर ९ का बासिन्दा वर्षौंदेखि बाटो अभावको पीडा झेलिरहेका छन्। जीवन धामीको घरदेखि महाकालीतर्फ जाने बाटो अत्यन्त साँघुरो र जीर्ण अवस्थामा रहेको भन्दै स्थानियले गुनासो गरेका छन्।
स्थानियका अनुसार करिब ६ मिटर चौडाइको हुनुपर्ने उक्त बाटो अहिले दुई मिटर पनि नपुगेको अवस्थामा छ। “एउटा अटो आएपछि बाटो पूरै ढाकिन्छ। हामी हिँड्न पनि बाटो नपाउँदा निकै दुःख भोग्नुपरेको छ,” स्थानीय बासिन्दा जीवन धामीले बताए।
यस क्षेत्रमा विगतमा दुईपटक ग्राभेल गरिएको भए पनि स्थायी सुधार नभएको स्थानियको भनाइ छ। विशेषगरी वर्षायाममा हिँडडुल अत्यन्तै कठिन हुने र सवारी साधन चलेपछि पैदलयात्रुहरु झनै जोखिममा पर्ने अवस्था रहेको जनाइएको छ।
यस्तै, कालिका हाट बजारदेखि करिब १ किलोमिटर पूर्वतर्फ जानका लागि अटो चढ्दा रु. १३० सम्म भाडा तिर्नुपर्ने बाध्यता रहेको बताइएको छ। बाटो सुधार नहुँदा सस्तो भाडामा यात्रा गर्न सक्ने सम्भावनासमेत गुमेको स्थानियको भनाइ छ।
स्थानियले पटक–पटक समस्या सम्बन्धित वडामा राखे पनि बेवास्ता हुँदै आएको गुनासो गर्दै आक्रोश व्यक्त गरेका छन्। अबिलम्ब बाटो मर्मत र सुधारको माग गर्दै स्थानीयले नगरपालिका र सरोकारवाला निकायलाई पहल गर्न आग्रह गरेका छन्।
![]()