कञ्चनपुर। कञ्चनपुरमा बालविवाहको अन्त्यका लागि सरकारी तथा गैरसरकारी निकायसँगै समुदायस्तरबाट थप प्रभावकारी पहल गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन्।
पेशवान नेपालले आइतबार महेन्द्रनगरमा आयोजना गरेको सञ्चारकर्मी अभिमुखीकरण कार्यक्रममा सहभागी सरोकारवालाले बालविवाह सामाजिक समस्या भएकाले यसको अन्त्यका लागि सबै पक्षबीच सहकार्य आवश्यक रहेको बताएका हुन्।

‘उत्थानशील भविष्यः नेपालमा बालविवाहको अन्त्य परियोजना’ विषयक छलफलमा नेपालमा २० वर्ष उमेर नपुगी हुने विवाहले कानुनी मान्यता नपाउने व्यवस्था रहेकाले बालविवाह रोक्न कानुनको प्रभावकारी कार्यान्वयनसँगै जनचेतना अभिवृद्धिमा जोड दिनुपर्ने बताइएको थियो।
कार्यक्रममा पेशवानका सदस्य दमनबहादुर चन्दले कैलाली र कञ्चनपुरमा बालविवाह न्यूनीकरणसँगै विपन्न समुदायलाई लक्षित गरी विभिन्न सामाजिक कार्यक्रम सञ्चालन हुँदै आएको जानकारी दिए। उनका अनुसार दुवै जिल्लाका ३० हजार ७३० विपन्न बालबालिकालाई शैक्षिक सामग्री वितरण गरिएको छ।
त्यस्तै, विभिन्न स्थानमा सञ्चालन गरिएका आँखा शिविरमार्फत १२ हजार २३४ जनाको आँखा परीक्षण गरिएको, ३ हजार ६०७ जनालाई चस्मा वितरण गरिएको तथा १ हजार ७५१ जनाको आँखाको शल्यक्रिया गरिएको चन्दले बताए।
कञ्चनपुरका ६५ जना अपाङ्गता भएका व्यक्तिलाई ह्विलचेयर वितरण गरिएको तथा दोधारा चाँदनीका २५० बाढी प्रभावित परिवारलाई खाद्यान्न तथा आवश्यक सामग्री सहयोग गरिएको उनले जानकारी दिए।
पेशवानले स्थानीयस्तरमा स्वरोजगार प्रवद्र्धन, सेफ हाउस निर्माण तथा मर्मत, दुना–टपरी मेसिन, बोरिङ, उचोधारा, जैविक तटबन्ध तथा विपद् व्यवस्थापनका सामग्रीसमेत सहयोग गरेको जनाएको छ। विभिन्न विद्यालयमा हिट रिफ्लेक्टिभ पेन्ट लगाउने, दुग्ध सङ्कलन केन्द्रलाई सामग्री सहयोग गर्ने तथा ई–रिक्सा लोडर र सोलार सामग्री उपलब्ध गराउने कामसमेत गरिएको चन्दले बताए।
‘उत्थानशील भविष्यः नेपालमा बालविवाहको अन्त्य परियोजना’का संयोजक लक्ष्मणसिंह विष्टले बालविवाह अन्त्यका लागि परियोजनामार्फत लक्षित कार्यक्रम सञ्चालन भइरहेको बताए। उनका अनुसार कञ्चनपुरको दोधारा चाँदनी र भीमदत्त नगरपालिकामा महिला तथा बालबालिकालाई केन्द्रित गरी विभिन्न कार्यक्रम सञ्चालन गरिएका छन्।
कञ्चनपुरका वरिष्ठ पत्रकार चित्राङ्ग थापाले कानुनी व्यवस्था भए पनि व्यवहारमा अझै बालविवाहको समस्या कायम रहेको बताए। बालविवाह अन्त्यका लागि प्रदेश सरकार र स्थानीय तहले थालेका प्रयासलाई प्रभावकारी बनाउन सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण हुने उनको भनाइ थियो।
सरकारी तथ्याङ्कले समेत सुदूरपश्चिमसहित देशका विभिन्न क्षेत्रमा बालविवाहको अवस्था कायमै रहेको देखाउने भएकाले यसको न्यूनीकरणका लागि सञ्चारकर्मीले निरन्तर जनचेतनामूलक सामग्री प्रकाशन तथा प्रसारण गर्नुपर्ने थापाले बताए।
कार्यक्रममा पेशवानका सदस्य हरिहर परियारले बालविवाहले महिला मात्र नभई परिवार, समुदाय र समग्र राष्ट्रलाई दीर्घकालीन असर पार्ने भएकाले यसको अन्त्यका लागि सामूहिक प्रयास आवश्यक रहेको बताए।
अभिमुखीकरण कार्यक्रममा सञ्चारकर्मी तथा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिको सहभागिता रहेको थियो।



