कञ्चनपुर: कञ्चनपुरको पुनर्वास नगरपालिका दोदा नदीका कारण बाढी, डुवान र कटानको उच्च जोखिममा रहेको छ। यहाँका तटीय क्षेत्रमा बसोबास गर्ने समुदायले प्रत्येक वर्ष बाढी, कटान र डुवानको समस्या भोग्दै आएका छन्। नदीको कटानका कारण खेतीयोग्य जमिन वर्षेनी नष्ट हुँदै गएको छ। यही समस्याको न्यूनिकरणका लागि पुनर्वास नगरपालिकामा प्रकृतिमा आधारित समाधान तर्फ कदम चालिएको छ।
नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) र मर्सिकोर नेपालको साँझेदारी तथा द कोकाकोला फाउण्डेशनको आर्थिक सहयोगमा सञ्चालित नेपालमा पूर्वानुमानमा आधारित पूर्वकार्यको सुदृढीकरण (सान) परियोजना तथा पुनर्वास नगरपालिकाको संयुक्त पहलमा आज दोदा नदीबाट हुने जोखिमको अध्ययन गरी प्रकृतिमा आधारित समाधानका लागि स्थलगत भ्रमण सम्पन्न गरिएको छ। यस भ्रमणको उद्देश्य सम्भावित जोखिम क्षेत्रमा जैविक तटबन्ध निर्माण र वृक्षारोपण गरी नदीको धार परिवर्तन गर्ने, खेतीयोग्य जमिन पुनः उपयोगयोग्य बनाउने तथा जलवायु परिवर्तन अनुकूलन सुनिश्चित गर्ने रहेको थियो।
कार्यक्रममा नगर प्रमुख तोय प्रसाद शर्मा, नगर उपप्रमुख भुलिया कुमारी राना, प्रशासकीय अधिकृत तिलक प्रसाद रिजाल, योजना अधिकृत शंकर बोगटी, विपद् सम्पर्क व्यक्ति ओमनाथ ढकाल, इन्जिनियर मुरलीधर जोशी तथा मर्सिकोर नेपाल र एनएनएसडब्ल्यूएका टोलीका सदस्यहरूको उपस्थिती रहेको थियो।
एनएनएसडब्ल्यूए, सान परियोजनाका कार्यक्रम संयोजक देवराज बडुलेले यस पहलले स्थानीय समुदायलाई बाढी, कटान र जलवायु परिवर्तनका जोखिमबाट सुरक्षित राख्न सहयोग पुऱ्याउने बताउनुभयो। उहाँका अनुसार पुनर्वास नगरपालिका वडा नम्बर ९ स्थित सितावस्ती समुदायमा ५०० मिटर र वडा नम्बर ७ स्थित परासन समुदायमा ७०० मिटर क्षेत्रफलमा जैविक तटबन्ध निर्माण र वृक्षारोपण गर्न सकिने निष्कर्ष निकालिएको छ।
त्यस्तै, पुनर्वास नगरपालिकाका योजना अधिकृत शंकर बोगटीले जैविक तटबन्ध निर्माणपछि त्यसको किनारमा करिब ४–५ मिटर क्षेत्रफलमा वृक्षारोपण गर्नुपर्ने र त्यसको संरक्षण जिम्मेवारी स्थानीय जमिनधनीले लिनुपर्ने बताउनुभयो।
नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) ले विपद् जोखिम न्यूनीकरणका लागि निरन्तर काम गर्दै आएको छ। सान परियोजनाले पुनर्वास नगरपालिका र विभिन्न साझेदार संस्थासँगको सहकार्यमा यसअघि दोदा नदी किनारमा २२५ मिटर लामो अस्थायी तटबन्ध निर्माण सम्पन्न गरिसकेको छ। पुनर्वास नगरपालिका वडा नम्बर २ को दशरथ बस्ती र वडा नम्बर ५ को सिमरी तथा रातोताल बस्तीमा रहेका बासिन्दालाई बाढी, डुवान र कटानबाट सुरक्षित राख्न यो पहल गरिएको थियो।
![]()