कञ्चनपुर- कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पताल को न्यूनतम सेवा मापदण्ड (Minimum Service Standard–MSS) अन्तर्गत गरिएको पछिल्लो अनुगमन तथा मूल्यांकनमा स्कोर घटेर ७६ प्रतिशतमा पुगेपछि सर्वसाधारणमा अस्पतालको सेवा स्तरबारे चासो बढेको छ।
नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत स्वास्थ्य निर्देशनालय सुदूरपश्चिम प्रदेशद्वारा सञ्चालन गरिएको MSS कार्यक्रम अन्तर्गत अस्पतालको सुशासन तथा व्यवस्थापन, क्लिनिकल सेवा व्यवस्थापन र सहयोग सेवा व्यवस्थापनको मूल्यांकन गरिएको थियो। विगतमा ३५ प्रतिशतबाट सुरु भएको अस्पतालको MSS स्कोर क्रमशः ६४%, ६६%, ७२%, ८०%, ८५% हुँदै ८८ प्रतिशतसम्म पुगेको थियो। तर हालै सम्पन्न मूल्यांकनमा भने अस्पतालले ७६ प्रतिशत मात्र प्राप्त गरेको देखिएको छ।
पछिल्लो मूल्यांकनमा स्कोर घटेपछि अस्पतालको सेवा गुणस्तर कमजोर बन्दै गएको हो कि भन्ने चिन्ता सर्वसाधारणमा देखिन थालेको छ। विशेषगरी सुदूरपश्चिम प्रदेशकै प्रमुख सरकारी अस्पतालका रूपमा रहेको महाकाली प्रादेशिक अस्पतालमा दैनिक ठूलो संख्यामा बिरामी उपचारका लागि पुग्ने भएकाले MSS स्कोर घट्नुले सेवा प्रवाहमा असर पर्न सक्ने आशंका गरिएको छ।
यता अस्पताल प्रशासनले भने MSS को अंकलाई मात्रै आधार बनाएर अस्पतालको सेवा मूल्यांकन गर्न नहुने जनाएको छ। अस्पतालका प्रशासन प्रमुख जदिश जोशी का अनुसार अस्पतालले पछिल्लो समय धेरै नयाँ सेवा विस्तार गरेको भए पनि ती सबै सेवा MSS मूल्यांकन प्रणालीमा समावेश नहुँदा स्कोर अपेक्षाअनुसार आउन नसकेको हो।
“अंकले मात्रै सबै कुरा निर्धारण गर्दैन,” डा. जोशीले भने, “हामीले धेरै सेवा बढाएका छौं, तर तीमध्ये केही MSS मा गणना हुँदैनन्। सेवा विस्तार भएको छ, बिरामीलाई सुविधा पनि थपिएको छ, तर त्यसअनुसार जनशक्ति उपलब्ध छैन।”
उनले अस्पतालमा जनशक्तिको अभाव प्रमुख चुनौती बनेको उल्लेख गर्दै सीमित कर्मचारीबाट अपेक्षाभन्दा बढी सेवा प्रवाह भइरहेको बताए। “हामीले सेवा हिसाबले धेरै काम गरिरहेका छौं। बिरामीले पाउने सेवा घटेको छैन, बरु बढेको छ,” उनले भने।
डा. जोशीका अनुसार अस्पतालले थप सेवा विस्तार गर्दै आएको भए पनि MSS प्रणालीमा ती सेवाको समुचित मूल्यांकन नहुँदा वास्तविक अवस्था प्रतिबिम्बित हुन नसकेको दाबी गरिएको छ। उनले यो विषय सरकार तथा सम्बन्धित निकायसमक्ष राख्ने तयारी भइरहेको जानकारी दिए।
“जति सेवा सुविधा अस्पतालले दिइरहेको छ, ती सबै MSS मा किन समावेश हुँदैनन् भन्ने कुरा हामी सम्बन्धित निकायसँग राख्छौं,” उनले भने, “सेवाग्राही आत्तिनुपर्ने अवस्था छैन, अस्पतालले नियमित रूपमा सेवा दिइरहेको छ।”
स्वास्थ्य क्षेत्रका सरोकारवालाहरूले भने MSS स्कोर घट्नुका कारणबारे विस्तृत समीक्षा गर्दै अस्पतालको सेवा गुणस्तर थप प्रभावकारी बनाउन आवश्यक सुधारका कदम चालिनुपर्ने बताएका छन्।
![]()