Clickable Banner Ad

शिक्षित मेयरपछि पनि शून्य नतिजा: शिक्षा संकटमा

— दरबन्दी मिलानको नारा र चरम नतिजाबीचको विरोधाभास

Clickable Video Ad

दोधारा चाँदनी, कञ्चनपुर | बैशाख ११, २०८२
शिक्षा क्षेत्र सुधारको नारा सहित निर्वाचित भएका दोधारा चाँदनी नगरपालिकाका शिक्षित मेयरप्रति नगरवासीहरूले ठूलो आशा राखेका थिए। “दरबन्दी मिलान गर्दा गुणस्तर वृद्धि हुन्छ” भन्ने नगरपालिकाको घोषणा अझै जनताको स्मरणमा ताजै छ। तर हालै सार्वजनिक भएको कक्षा ८ को वार्षिक परीक्षाको नतिजाले ती नारामाथि गम्भीर प्रश्नचिन्ह खडा गरेको छ।

Advertisement
Advertisement

नगरपालिकाद्वारा प्रकाशित विवरणअनुसार कूल ९१० विद्यार्थीमध्ये ८६८ जना परीक्षामा सहभागी भए। तीमध्ये जम्मा १८५ विद्यार्थी मात्र — करिब २१ प्रतिशत — उत्तीर्ण हुन सके, भने बाँकी ७२५ जना अनुत्तीर्ण भएका छन्। अझ भयावह कुरा — तीन विद्यालयमा शून्य नतिजा आएको छ, जसको अर्थ ती विद्यालयहरूबाट एक जना पनि विद्यार्थी उत्तीर्ण हुन सकेनन्।

स्थानीय बासिन्दा भन्छन, “हामीले शिक्षित मेयर रोज्यौं, शिक्षाको उज्यालो आशामा। तर नतिजाले विश्वासमै चोट पुर्यायो। दरबन्दी मिलाएर गुणस्तर बढ्ने भनिएको थियो, तर गुणस्तर त धराशायी छ।”

शिक्षा सुधारका लागि नगरपालिकाले अलग बजेट विनियोजन गरे पनि त्यसको प्रत्यक्ष प्रभाव विद्यालयमा देखिएको छैन। धेरै विद्यालयमा अनियमित शिक्षक उपस्थिति, र पाठ्यक्रमको अपूर्णता जस्ता समस्याहरू कायमै छन्। नगरले शिक्षा अनुगमनका लागि छुट्टै संयन्त्र बनाएको भए पनि त्यो सक्रिय रूपमा कार्यरत नभएको स्थानीय अभिभावकहरूको गुनासो छ।

“शिक्षा केवल चुनाव जित्ने हतियार होइन। यो समाज बनाउने जग हो। आजको नतिजाले देखाउँछ कि दोधारा चाँदनीको शिक्षा प्रणाली नेतृत्वविहीन अवस्थामा छ।”

नगरपालिकालाई अहिले जनताको विश्वास कायम राख्न शिक्षामा ठोस कदम चाल्नुपर्ने दबाब बढ्दो छ।

अब नेतृत्व मौन बस्न मिल्दैन। ‘शिक्षा सुधारको मुहान’ भनेर अघि सारेको दरबन्दी मिलान मात्र पर्याप्त छैन—यसको प्रभावकारी कार्यान्वयन र जवाफदेही नेतृत्व आजको अपरिहार्यता बनेको छ।

Loading

Advertisement

Leave a Comment